
काठमाडौं, सशस्त्र प्रहरी बलले आफ्ना बहालवाला एवं अवकाशप्राप्त कर्मचारीका साथै आश्रित परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न यो वर्ष गण्डकी प्रदेशमा अस्पताल निर्माण गर्ने घोषणा गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २१औं सशस्त्र प्रहरी दिवस–२०७८ को अवसरमा आइतबार संगठनको केन्द्रीय कार्यालय हल्चोक, स्वयम्भूमा आयोजित विशेष समारोहमा संगठनको कल्याणकारी कोषको रकमबाट अस्पताल निर्माण गर्ने घोषणा गरेका हुन् । उनले अर्काे वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एकवटा फिल्ड अस्पताल स्थापना गरिने पनि सो अवसरमा घोषणा गरे ।
सशस्त्र प्रहरीले लामो समयदेखि काठमाडौंको बलम्बुमा नेपाल एपीएफ अस्पताल सञ्चालन गर्दै आएको छ । बलम्बुपछि प्रदेश १ मा पूर्व क्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बाग्मती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशको कोहलपुरमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल सञ्चालन गर्दै आएको छ ।
यसैगरी, कल्याणकारी सेवा केन्द्रमार्फत बहालवाला एवं भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार तथा स्थानीय सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्न सातवटै प्रदेशमा एक÷एकवटा विद्यालय स्थापना गर्दै लैजाने लक्ष्यअनुरूप सुदूरपश्चिम प्रदेशको उपयुक्त स्थानमा विद्यालय स्थापना गर्ने भएको छ ।
सशस्त्र प्रहरीले विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना एवं पेट्रोल पम्प विस्तारमा पनि जोड दिएको छ । स्वच्छ ऊर्जा खपत गर्ने वातावरणमैत्री सवारी तथा यातायातका साधनलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुरूप एवं कल्याणकारी कोषको आयस्रोतलाई समयानुकूल वृद्धि तथा सुरक्षित बनाउँदै लैजाने उद्देश्यका साथ काठमाडौं, पोखरा र चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न यथाशीघ्र आवश्यक प्रक्रिया अगाडि बढाइने भएको छ ।
साथै समय–समयमा हुने इन्धन संकटको समस्यालाई सरकारी तवरबाट आपूर्ति सहजीकरण र व्यवस्थापन गर्न बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका उपयुक्त स्थानमा पेट्रोल पम्प सञ्चालनका लागि आवश्यक प्रक्रिया यसै वर्षदेखि सुरु गरी निरन्तरता प्रदान गरिएको छ ।
सशस्त्र प्रहरीले अबदेखि आफ्ना सबै अधिकृतलाई चारपांग्र्रे सवारीसाधन खरिद गर्न सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने भएको छ । यो व्यवस्था यसअघि सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकसम्मका लागि थियो । अब भने सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतलाई समान रूपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने आजको राजधानी दैनिकमा खबर छ ।







