
काठमाडौं, राजस्व छलीका मुद्दा बढ्न थालेका छन्। राजस्व अनुसन्धान विभाग सक्रिय भएसँगै राजस्व छलीका मुद्दा बढेको पाइएको छ।
विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ६ अर्बभन्दा बढी राजस्व छली भएको छ। विभागले हालैमात्र ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकाललगायतले २ अर्ब ४० करोड रकम राजस्व छलेको भन्दै मुद्दा दायर गरेको छ। त्यसबाहेक अरू ३ अर्ब ७१ करोडको बिगो दावीसहित मंसिरसम्म ३५ वटा राजस्व चुहावटका मुद्दा दायर भएको छ।
विभागका महानिर्देशक प्रकाश पौडेलले अनुसन्धानको दायरा फराकिलो पारिएको बताए। ‘हामी राजस्व चुहावटको अनुसन्धानमा दत्तचित्त भएर लागेका छौं’ उनले भने। विभागमा इकोनोमिक इन्टिेलिजेन्ट नभएकाले अनुसन्धान प्रभावित हुन पुगेको पौडेलले बताए। यसअघि विभागको सूचना प्रणाली नहुँदा अनुसन्धानमा समस्या थियो। तर, पछिल्लो समयमा विभागले भन्सार विभाग र आन्तरिक राजस्व विभागमा भएका सूचना प्रणालीमा पहुँच पुर्याउन समन्वय गरेको जनाएको छ।
विभागले विदेशी विनिमय तथा हुन्डी कारोबारतर्फका २२ वटा मुद्दा दायर गरेको छ। ७ करोड ७२ लाख बिगो दावी गरिएको छ। विभागले राजस्व चुहावटमा १ सय ११ जना र बिदेशी विनिमय अपचलन तथा हुन्डी कारोबारतर्फ ३६ जना विरुद्ध मुद्दा दायर गरेको छ। उपमहानिर्देशक तथा प्रवक्ता टंकप्रसाद पाण्डेले राजस्व छली गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइएको बताए।
विभागले गत आर्थिक वर्ष २०७७/७८ मा राजस्व चुहावटको कसुरमा ११ अर्ब ८१ करोड ९५ लाखको बिगोसहित ८४ वटा मुद्दा दायर गरेको थियो। ३ सय १७ जनालाई जरिवाना र कैद सजाय माग गर्दै जिल्ला अदालत तथा उच्च अदालतमा मुद्दा दायर गरिएको थियो। त्यस्तै गत वर्ष बिदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा ५४ वटा मुद्दा दायर भएका थिए। १ सय १४ जनाविरुद्ध ४ अर्ब ९४ करोड ५८ लाखको बिगो दावी गरिएको थियो। अन्नपूर्ण पोस्टबाट







