August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई हजार २५ जना मतदाता कायम हुने

काठमाडौं, राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरे को मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेको जानकारी दिए । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेको थियो ।

बिहान ११ बजे देखि अपराह्न ४ बजेसम्म दाबी विरोध र नाम सच्याउन निवेदन आह्वान गरिएकोमा कुनै निवेदन परेन । राष्ट्रिय सभा निर्वाचनका लागि स्थापना गरिएको सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ ।

विराटनगरस्थित निर्वाचन कार्यालयका प्रमुख लेबन कश्यपले ९२ जना प्रदेश सभा सदस्य र २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ३६४ जना मतदाता कायम भएको जानकारी दिए । प्रदेश २ मा १०४ प्रदेश सभा सदस्य र २६८ स्थानीय तहका गरी कुल ३७२ जना मतदाता कायम भएको निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिए ।

बागमती प्रदेशमा १०९ प्रदेश सभा सदस्य र २३७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४६ जना मतदाता रहेका छन् । गण्डकीमा ५९ प्रदेश सभा सदस्य र १७० स्थानीय तहका गरी कुल २२९ मतदाता रहने भएका छन् । लुम्बिनीमा ८१ प्रदेश सभा सदस्य र २१५ स्थानीय तहका गरी कुल २९६ मतदाता रहने छन् । कर्णालीमा ३५ प्रदेश सभा सदस्य र १५६ स्थानीय तहका प्रमुख गरी १९१ जना मतदाता कायम भएका छन् । सुदूरपश्चिममा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका प्रमुख गरी २२७ जना मतदाता रहेका छन् ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको