April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन सकस

काठमाडौं, नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ ।

अब मनोनित गर्न २३ जना बाँकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । काँग्रेस विधानमा ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ ।

जसमध्ये सभापति देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गरेका छन् । १० मध्ये २ जना महिला परेका छन् ।

यसअघि, कार्यसमितिमा सभापतिसहित १ सय ३५ जना निर्वाचित हुँदा महिलाको संख्या ४१ थियो । निर्वाचित हुने ४१ जनामा सहमहामन्त्री एक, महिला खुलातर्फ ९, प्रत्येक प्रदेशबाट महिला कोटाबाट आएका ७, खसआर्य महिलातर्फ ६, आदिवासी जनजाति महिलातर्फका ७, मधेसी महिलातर्फका ४, दलित महिलातर्फका ४, थारु महिलातर्फ २ र मुस्लिम महिलातर्फ १ गरी जम्मा ४१ जना निर्वाचित भएका थिए । निर्वाचित सबै आरक्षण कोटाबाट मात्र आएका हुन् ।

आरक्षण र मनोनितबाहेक महिलाको संख्या शून्य रहेको काँग्रेस केन्द्रीय समितिमा पदाधिकारीमा एकमात्र महिला छन् । काँग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठसहित १३ पदाधिकारी रहन्छन् । कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब २३ जना मनोनित गर्दा १२ जना महिला मनोनित गर्नुपर्ने भएकाले सभापति देउवालाई सकस परेको देउवा निकट स्रोतले जानकारी दिएको छ । समाचारपत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको