
काठमाडौं, तीन महिनाको अवधिमा मुलुकको शोधनान्तर स्थिति ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको थियो ।
तीन महिनामा मुलुकबाट बाहिरिने र नेपालमा भित्रिने कुल रकमबीचको अन्तरका कारण शोधानान्तर स्थिति कमजोर हुन गएको हो । मुलुकको चालू खाता पनि १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा गएको छ ।
यस अवधिमा नेपालमा भित्रिने रेमिट्यान्स घट्नुका साथै व्यापार घाटा बढ्न जाँदा मुलुक बाहिरिने रकम बढ्न गएको र भित्रिने रकम कमी हुन गएकाले यस्तो भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव २४ प्रतिशत रहेको छ । मुद्रास्फीतिले तीन महिनामा सवा चार प्रतिशत मूल्यवृद्धि भएको इंगित गर्छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १ दशमलव २ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दाबी ७ दशमलव ८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७ दशमलव २ प्रतिशत र निजीक्षेत्रमाथिको दाबीको वृद्धिदर ३० दशमलव ८ प्रतिशत छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५ दशमलव ९ प्रतिशतले कमी आई १ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३ दशमलव ५ प्रतिशतले वृद्धि भइ ५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
चालू आवको प्रथम त्रैमासमा विदेशी मुद्राको सञ्चितिसमेत घटेको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५ दशमलव ७ प्रतिशतले घटेर असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको व्यापार घाटा ५८ दशमलव ३ प्रतिशतले बढेको छ ।राजधानी दैनिकबाट







