October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

काठमाडौं, असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको हो ।

सरकारले काठमाडौं उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजना पुनर्निर्माणलाई अगाडि बढाउन समितिलाई निर्देशनसहित तत्कालका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराइसकेको छ ।

समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरण थाल्न २ अर्ब रुपैयाँ माग गरेकोमा सरकारले कार्ययोजनाअनुसार नै तत्कालका लागि एक अर्ब निकासा गरेको हो । प्रवक्ता पन्तले यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा वितरण गर्नेगरी तयारी भइरहेको बताए ।

सरकारले आयोजनाको हेडवक्र्ससम्म पुग्ने बाटो खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ । आयोजना प्रमुख वासुदेव पौडेलले मेलम्ची बजारदेखि हेडवक्र्ससम्मको २२ मध्ये ८ किमी सडक पूर्णरूपमा क्षतिग्रस्त भएकाले ट्र्याक खोल्ने जिम्मा सेनालाई दिन छलफल भइरहेको बताए । ‘निर्माण कम्पनीलाई दिने हो भने वर्ष दिनमा पनि ट्र्याक खोल्न सम्भव देखिँदैन,’ उनले भने, ‘यस विषयमा तत्काल सरकारलाई जानकारी गराएर निर्णय लिन्छौं ।’आजको आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको