October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

सेयर बजारमा लगातार गिरावट, डेढ खर्ब रुपैयाँ खुम्चियो

काठमाडौं, अघिल्ला तीन कारोबार दिन लगातार ओरालो लागेको सेयर बजारमा सोमबार पनि सोही प्रवृत्ति दोहोरियो, जसका कारण सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४ अंक घट्यो ।

यो गिरावटसँगै समग्र नेप्से परिसूचक २ हजार ६ सय ९८.२४ बिन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबार दिन (गत बिहीबार) को तुलनामा सोमबारको नेप्से ४.०५ प्रतिशत घटेको हो । राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइ, ब्याजदर वृद्धि र लगानीकर्ता अतालिएकाले नेप्से घटेको जानकारहरू बताउँछन् ।

नेप्से घटेपछि लगानीकर्ताको सम्पत्तिको मूल्य (कुल बजार पुँजीकरण) साढे १ खर्ब रुपैयाँभन्दा धेरै घटेको छ । यसअनुसार सोमबार कुल बजार पुँजीकरण ३७ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ । गत बिहीबार यो ३९ खर्ब ३५ अर्ब रुपैयाँ थियो । केही दिनयता सेयर बजार उच्च अंकले घट्नुको एक मात्र कारण राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइ नै रहेको लगानीकर्ता निर्मल प्रधानको भनाइ छ ।


‘मानिसले ब्याजदर वृद्धिलाई पनि बजार घट्नुको कारण मानिरहेका छन्, जुन सत्य होइन । सेयरमा लगानी गर्न होमिएका व्यक्तिका लागि १/२ प्रतिशत ब्याज बढ्दैमा केही असर पर्दैन,’ उनले भने, ‘एक संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था नै बजार घट्नुको प्रमुख कारण हो ।’

उक्त व्यवस्थाका कारण बजारमा ठूला लगानीकर्ताले ऋण लिन नसक्ने अवस्था आएको उनले बताए । ‘बजारमा ठूलो परिमाणमा सेयर खरिद गर्ने भनेको ठूलो लगानीकर्ताले नै हो,’ उनले भने, ‘उनीहरूले कर्जा लिन नपाएपछि बजार प्रभावित हुने नै भयो ।’ उक्त व्यवस्था परिमार्जन नहुँदासम्म सेयर बजार तीव्र रूपमा बढ्न नसक्ने उनको भनाइ छ ।कान्तिपुर दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको