
काठमाडौं, कोरोना महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ ।
हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालका अनुसार दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिक र कामदार नेपाल नफर्कंदा बाँकी काम अगाडि बढ्न नसकेको हो।
पुनर्निर्माणको जिम्मा ‘चाइनिज एकेडमी अफ कल्चरल हेरिटेज’ले पाएको छ । उनले भने, ‘‘२०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीभन्दा पहिला नै चिनियाँ प्राविधिक टोली स्वदेश फर्केका हुन् । त्यसपछि उहाँहरू नेपाल आउनुभएको छैन ।’’ सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
खनालले भने, ‘‘निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीसँग हामी नियमित सम्पर्कमा छौँ । नेपालमा कोभिडको महामारी सामान्य भएपछि नेपाल आएर बाँकी काम पूरा गर्ने चिनियाँ पक्षले बारम्बार प्रतिबद्धता गरिरहेको छ ।’’ चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको सो दरबार निर्माणको समयावधि २०७९ को कात्तिक (सन् २०२२ को नोभेम्बर) सम्म रहेको छ ।
वसन्तपुरको नौतले दरबारमा फलामे डन्डीको खट बाँधी चर्किएको गारोलाई सबलीकरण गर्ने र माथिल्लो भागलाई पुनर्निर्माण गरिँदै छ । दरबारको भित्तामा माटो, गोबर र भुसबाट निर्मित लिउन लगाउने र भत्किएको भाग पुरानै शैलीमा निर्माण गरिएको छ ।
काठमाडौँ उपत्यकामाथि विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले उपत्यकाका तीनैवटा सहर देखिनेगरी सामरिक महìवका आधारमा निर्माण गरेको यो दरबारको पाँचौँ तलामाथिको सम्पूर्ण भाग भूकम्पमा भत्किएको थियो ।
त्यसबेला माटोको जोडाइमा बनाइएको भए पनि हाल चुना सुर्कीबाट निर्मित वज्रको जोडाइमा पुनर्निर्माण गरिँदै छ । निर्माणसामग्री लैजाने र भत्काइएका सामान ओराल्नका लागि समेत परम्परागत सामग्री प्रयोग गरिएको छ ।गोरखापत्रबाट







