
काठमाडौं, प्रमुख प्रतिपक्षी दल एमालेले विधान महाधिवेशन १५, १६ र १७ असोजमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको हो ।
विधान महाधिवेशनको आवश्यक तयारीका लागि स्थायी कमिटीको बैठक ३ र ४ असोजमा बस्ने भएको छ । उक्त बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनले आवश्यक निर्णय लिने सचिव योगेश भट्टराईले बताए ।
उनले सुझावलाई राखेर केन्द्रीय कमिटीको बैठक ८ र ९ असोजमा बोलाइएको उनले बताए । भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्य विधान महाधिवेशनका सदस्यहरू हुने ऐन रहे पनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रीय कमिटी र त्यसका सदस्यहरू, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यहरूले भाग लिन पाउनेछन् ।
यसैगरी प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसद्का सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीतहरूले पनि विधान महाधिवेशनमा भाग लिन पाउने निर्णय भएको सचिव भट्टराईले बताए । योसहित करिब ३ हजार प्रतिनिधिहरूले भाग लिने उनले बताए । नयाँ पत्रिकाबाट







