
काठमाडौं, अध्यादेशमार्फत बजेट संसोधन गरेको सरकारले चालू वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै चैतपछिको तीन महिना अवधिमा आर्थिक क्रियाकलाप बढ्ने आशा व्यक्त गरे । यसअघि ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको थियो ।
आगामी चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने भएकाले आर्थिक क्रियाकलाप विस्तार हुने सरकारको अपेक्षा छ । मुद्रास्फीतिमा भने संशोधन भएको छैन । मुद्रास्फीति दर ६.५ प्रतिशतमा सीमित हुने अघिल्लो सरकारको अनुमानलाई निरन्तरता दिइएको छ ।
खोप किन्न ५ अर्ब
सरकारले कोभिड–१९ विरुद्धको खोप किन्न पाँच अर्ब रकम छुट्ट्याएको छ । चालू खर्चअन्तर्गतका विभिन्न किसिमका सरकारी भत्ताबापतको न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरिएको छ । त्यसबाट तत्काल बचत हुने पाँच अर्ब रुपैयाँ खोप किन्न प्रयोग गरिने संशोधित बजेटमा उल्लेख छ । सरकारले २०७८ चैतसम्ममा सबैलाई खोप दिने बताउँदै आएको छ ।
जनसंख्याको १७ प्रतिशतले भदौ २३ सम्म खोप लगाएको सरकारी तथ्यांक छ । हालसम्म १ करोड ३३ लाख ६९ हजार खोप आयात गरिएको, करिब तीन करोड मात्रा आउने क्रममा रहेको जनाइएको छ ।
कोभिड पीडितलाई राहत
सरकारले कोभिड–१९ बाट पीडितलाई पहिलो पटक बजेटमा समेटेको छ । कोभिडबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्नलाई अनुदान दिइने भएको छ । तीमध्ये पाँच लाख परिवारलाई १० हजारका दरले मापदण्डका आधारमा अनुदान प्रदान गरिने भएको छ । यस्तो रकम स्थानीय तहको समन्वयमा असोजभित्र हस्तान्तरण गरिनेछ ।
कृषिमा थप लगानी
कृषि बाली तथा पशु बिमाको प्रिमियम अनुदान बजेटमार्फत ८० प्रतिशत पुर्याइएको छ । कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी यस क्षेत्रमा किसानलाई आकर्षण गर्न, कृषि बाली तथा पशु बिमाको दायरा विस्तार गर्न यो योजना अघि सारिएको हो । यसअघि बीमा प्रिमियममा ५० प्रतिशत अनुदान दिँदै आइएको थियो ।अन्नपूर्ण पोस्टबाट







