October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

एमसीसी पास हुनेमा उपाध्यक्ष सुमार आशावादी


काठमाडौं, नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्  ।

उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरिन्।

स्रोतका अनुसार भेटमा उनले आफू नेपालमा एमसिसीका पक्षमा दबाब सिर्जना गर्न नभई यसको अवस्था बुझ्न आएको र नेपालले सकारात्मक निर्णय गर्नेमा आशावादी रहेको बताएकी छन्।

सुमारसँगको भेटमा एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक परिवर्तनमा यसको महत्वबारे छलफल भएको जानकारी देउवाले दिएका छन्। भेटमा नेपाल–अमेरिका सहयोगका अन्य विविध विषयमा पनि छलफल भएको जनाइएको छ।

सन् २०१७ मा आफ्नै प्रधानमन्त्रित्वकालमा सम्झौता भएको एमसिसीलाई कार्यान्वयन तहमा अघि बढाउन देउवा प्रतिबद्ध छन्। तर सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सबैसँगको सहमति र सम्झौता संंशोधन गरेरमात्र एमसिसी कार्यान्वयन तहमा अघि बढाउनुपर्ने अडान राखेका कारण देउवाको मात्र चाहनाले यो संसद्बारा पारित हुने अवस्था छैन। नागरिक दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको