September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

पोखराका विभिन्न स्थानमा पहिरो: पाँच जनाको मृत्यु

पोखरा, लगातारको अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । कास्की प्रहरी प्रमुख रमेश थापाले पोखरा महानगरपालिका–२० भलाममा चार र पोखरा महानगरपालिका–११ काहुँमा एक गरी पाँचको मृत्यु भएको बताएका छन् । 

पोखरा–२० भलाम र्‍याले चौरका ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको पहिरोका कारण मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको थापाले बताए । उनीहरूका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् ।

नौ वर्षीय अर्का छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भलामकै मूलाबारीमा घरमाथिको ढिस्को खस्दा विष्णु सार्की र उनका आठ वर्षीय छोरा सुजन सार्कीको ज्यान गएको छ । पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एउटा घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ ।

पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि घर फर्केकी छन् । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरिएको थियो ।

पोखरा महानगरपालिका–११ कसेरीमा अर्को घर पहिरोमा पुरिँदा एकदेव तिमल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिश घाइते भएका छन् । भलामकै मुलाबारीमा अर्को एक घर पहिरोले बगाएको छ । घरमाथिबाट अन्दाजी राति १२ बजे ढिस्को खसेको वडाध्यक्ष गुरुङले जानकारी दिए । प्रहरीका अनुसार पोखरा–६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पुर्‍याएको छ । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको