September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

वाग्मती प्रदेश सरकार अल्पमतमा

काठमाडौं, मकवानपुर/मोरङ/धनगढी/धनुषा/रूपन्देही/गण्डकी — वाग्मती प्रदेशमा १२ सांसदले नवगठित एकीकृत समाजवादी दल रोजेपछि एमालेले एकल बहुमत गुमाएको छ । प्रदेश १ मा पनि एकल बहुमतको सरकार बनाएको एमाले अल्पमतमा पर्ने भएको छ ।

दल विभाजनपछि दुवै प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको छ । एमालेले गण्डकी र लुम्बिनीमा भने एमालेले दल विभाजनअघि नै सत्ता गुमाएको थियो । 
वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकार दुई साता नबित्दै अल्पमतमा परेको हो । शाक्यले गत २ गते पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।

एमालेका तर्फबाट प्रदेशसभा सदस्य भएका १२ जनाले मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नयाँ दल एकीकृत समाजवादी रोज्दै सनाखत गरेका छन् । १ सय ९ सांसद रहेको प्रदेशसभामा अब एमाले ४४ सिटमा सीमित भएको छ । बहुमतका लागि ५५ सिट चाहिन्छ । पार्टी विभाजनअघि एमालेमा सभामुखसहित ५६ सदस्य थिए ।

सांसदहरू राजेन्द्र पाण्डे, कृष्ण खनाल शर्मा, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरूले सनाखत गरेका हौं । अझै थपिनुहुन्छ,’ सांसद बसुन्धरा हुमागाईंले भने । उनले नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ सांसद रहेको दाबी गरे ।

दल विभाजनको जानकारी प्रदेशसभामा प्राप्त भएकाले बढीमा ३० दिनभित्र नवनियुक्त मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ । उनी संविधानको धारा १६८ (१) अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा नियुक्त भएकी थिइन् । पार्टी विभाजन नभएको भए शाक्यले विश्वासको मत लिनुपर्दैनथ्यो ।

मुख्यमन्त्री शाक्यको सरकार ढल्ने निश्चित भएसँगै एमाले इतरका दलहरू गठबन्धन सरकार बनाउने तयारीमा लागेका छन् । सरकारले विश्वासको मत लिन आलटाल गरे विपक्षी गठबन्धनले विशेष अधिवेशन बोलाएर भए पनि नयाँ सरकार निर्माण गर्ने उनीहरूको भनाइ छ । प्रदेशसभामा माओवादीको २३ र कांग्रेस २२ मत छ । सरकार गठनका लागि गठबन्धनलाई थप १० मत भए पुग्छ । एकीकृत समाजवादीमा १२ सांसद खुलिसकेका कारण गठबन्धनको सरकार बन्ने निश्चित छ ।कान्तिपुर दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको