March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नवलपरासीमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु

काठमाडौं, अविरल वर्षाका कारण नवलपरासीको पूर्व र पश्चिम दुवै जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको बाढीपहिरोमा परी नवलपरासी पूर्वमा ३ र पश्चिममा ३ गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारी वर्षासँगै घर माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका नवलपरासी पूर्वहुप्सेकोट–४ माथिल्लो चारघरेका ३ जनाको शव शनिबार अपराह्न सुरक्षाकर्मीले पुरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी मधुसूदन सिंहका अनुसार पहिरोमा परी मृत्यु हुनेमा ४० वर्षीया धनमाया पुलामी, नातिनीहरु ६ र ७ वर्षका देउमाया भूमिसरा रहेका छन् । उनीहरुको शव घटनाको करिब ३६ घण्टापछि पुरिएको अवस्थामा घटनास्थलमै भेटिएको थियो ।

प्रहरी र स्थानीयबासीले शुक्रबार दिनभर बेपत्ताको खोजी गरे पनि उनीहरुलाई फेला पार्न सकिएको थिएन । शनिबार करिब ५० सुरक्षाकर्मी परिचालन गरी खोजतलास गर्दा पुरिएको अवस्थामा ३ जनाको शव फेला परेको हो । सोही पहिरोमा परेका घरमुली हस्तबहादुर पुलामीलाई भने घटनालगत्तै स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए ।

वर्षा सँगै आएको बाढी–पहिरोले हुप्सेकोटकै गिरुबारी र पत्थरका सहायक खोला थुनिएको गाउंँपालिकाले जनाएको छ । खोला थुनिएको जानकारी आएपछि हुप्सेकोट गाउँपालिकाले शनिबार बिहान सूचना जारी गर्दै खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको थियो ।

पहिरोमा मानिस बेपत्ता भएको र खोला थुनिएको सूचना पाएसँगै गंण्डकी प्रदेश सांसद विष्णु लामिछाने, गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, पालिका प्रशासकीय अधिकृतसहित थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ लागेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको