
काठमाडौं, सरकारको बेरुजु रकम सवा ४ खर्ब पुगेको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजुतर्फ ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
महालेखा परीक्षक कार्यालयले शुक्रबार नै यो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तर गरेको हो। प्रतिवेदनले स्थानीय तहदेखि प्रदेश र संघअन्तर्गतका मन्त्रालयसम्मले नियम मिचेर आफूखुसी बजेट खर्च गरेको उल्लेख गरेको छ।
प्रतिवेदनले तीनवटै तहमा व्यापक अनियमितता भएको ठहर गरेको छ। मुलुकभर भौतिक पूर्वाधारको निर्माण र लागत यर्थाथ नभएको, प्रतिस्पर्धा बेगर खरिद भएको, विद्युतीय कारोबारलाई करको दायरामा ल्याउन नसकिएको भन्दै प्रश्न उठाएको छ। यस्तै सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको र संस्थानहरूको अवस्थासमेत भद्रगोल रहेको औंल्याइएको छ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै १ खर्ब ४ अर्ब ३८ करोड बेरुजु भएको छ। यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ४४ अर्ब ३९ करोड बेरुजु भएको छ। यसपछि सबैभन्दा बढी स्थानीय तह(बक्यौता ५ सहित) मा ४० अर्ब ८३ करोड बेरुजु भएको छ।
प्रदेश मन्त्रालय तथा निकायतर्फ भने ६ अर्ब ७५ करोड बेरुजु देखिएको छ। यस्तै समिति र अन्य संस्थातर्फ १२ अर्ब ६६ करोड बेरुजु भएको छ। महापरीक्षकको कार्यालयकाअनुसार अघिल्लो वर्ष ५ हजार ४ सय ७७ निकायको ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।







