
काबुल, वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली कामदार स्वदेश फर्किएका छन् ।
तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगै नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगै दुई अफगानी नागरिक पनि नेपाल आएको रेकर्डमा देखिएको बताए ।
आइतबार राजधानी काबुल पनि तालिवानले पूर्ण नियन्त्रणमा लिएसँगै थप नेपाली कामदारको उद्धार सुरु भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले सोमबार कतारको राजधानी दोहा पुर्याएको छ । आइतबार ५० जना दोहा पुर्याएकोमा सोमबार अपराह्न थप तीन सय ३५ जनालाई उद्धार गरेको हो । उनीहरूमध्ये केही मंगलबार स्वदेश आइपुग्नेछन् ।
परराष्ट्र स्रोतका अनुसार बेलायती दूतावासमा कार्यरत ८७ नेपालीलाई पनि बेलायत सरकारले त्यहाँबाट उद्धार गरिसकेको छ । ‘उहाँहरूलाई बेलायत सरकारले धन्यवादसहित नेपाल पठाउने लिखित जानकारी आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने ।
‘नेपालीहरूलाई उद्धार गर्ने प्रक्रिया सुरु भएको छ, उहाँहरू नेपाल आइपुग्नासाथ हामी विस्तृतमा सार्वजनिक गर्छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सोमबार साँझ नयाँ पत्रिकासँग भनिन्, ‘काबुलमा रहेका सबै नेपाली सुरक्षित भएको जानकारी आएको छ । विभिन्न समूहमा रहेका सबै नेपाली दिल्लीस्थित दूतावाससँग निरन्तर सम्पर्कमा हुनुहुन्छ ।’
संयुक्त राष्ट्रसंघको कार्यालय, युएनएचसिआर, आइओएमलगायतका निकायमा कार्यरत चार सय ७० जना नेपाली पनि उद्धारको पर्खाइमा छन् । उनीहरू काबुलको होटेलमा बसेका छन् । नयाँ पत्रिकाबाट







