
काठमाडौं, सरकारले एक वर्षभित्र स्याटलाइट स्थापना गर्न अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौताको तयारीसहित ७० करोड बजेट छुट्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो वार्षिक कार्यक्रममा स्याटलाइट स्थापनाका लागि आवश्यक स्याटलाइट लन्चिङ गर्न र ग्राउन्ड स्टेसन बनाउन उक्त बजेट विनियोजन गरेको हो ।
यसअन्तर्गत २० करोड रुपैयाँ परामर्शदाता छनोटमा खर्च हुनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म स्याटलाइट स्थापना गर्न सेवा प्रदायक छनोटको काम सक्ने प्राधिकरणको लक्ष्य रहेको अध्यक्ष पुरुषोत्तम खनालले बताए ।
स्याटलाइट स्थापना गर्नुअघि आवश्यक कानुनी र व्यवस्थापक हेर्ने गरी परामर्शदाता नियुक्तिका लागि मागिएको आशयपत्र रद्द भएकाले स्याटलाइट स्थापनाको प्रक्रिया केही ढिला हुने भएको हो ।
स्याटलाइट स्थापना गर्न अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू) बाट आवश्यक सबै स्वीकृतिका प्रक्रिया पूरा भइसकेको खनालले जानकारी दिए । ‘आईटीयूबाट सबै प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘नेपालले राख्ने स्याटलाइटलाई असर पार्न सक्ने अन्य स्याटलाइटसँग पनि सबै खालको विवाद अन्त्य भइसकेको छ ।’ नेपालले राख्ने स्याटलाइटले आफ्नो देशको स्याटलाइट प्रभावित हुने भन्दै लावसले आईटीयूमा निवेदन दिएको थियो । तर दुवै देश छलफलपछि सहमतिमा पुगिसकेका छन् ।
प्राधिकरणले गत वर्ष स्याटलाइट नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन मोडालिटी, स्याटलाइट स्थापनाका लागि बोलपत्र आह्वान गर्दा स्पेसिफिकेसन तयार पार्नुपर्ने, स्याटलाइटको व्यावसायिक सम्भाव्यताको खोजी गर्नुपर्ने र स्याटलाइट स्थापना भएपछिको नियमनको परामर्श सेवा पनि दिनुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागेको थियो । आजको कान्तिपुर दैनिकमा प्रकाशित खबर ।







