September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

जसपा विवाद टुंग्याउँदै निर्वाचन आयोग

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेको छ ।आयोगले मंगलबार बसेको पदाधिकारी बैठकमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको हो ।

इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा छन् । इजलासको सुनुवाइका लागि आगामी ३ साउनमा आयोगले दुवै पक्षलाई बोलाएको छ । आयोगका प्रमुख आयुक्त दिने थपलियाले आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेकाले दुई साताभित्रमा नै विवादको निरुपण गरिसक्ने जानकारी दिए ।

‘आयोग अब जसपा विवादको मूल प्रक्रियामा अघि बढ्यो, दुवै पक्षको सहयोग रह्यो भने दुई साताभित्रै विवाद निरुपण गर्छौं,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

आयोगले मंगलबार जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षलाई बोलाएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ ९४० को व्यवस्थाअनुसार सहमतिको प्रयास गरेको थियो । आयोगको सो प्रयासमा जसपाका दुवै पक्ष सहमत नभएपछि आयोगले कानुनी प्रक्रियामार्फत विवाद निरुपणका लागि इजलास गठन गरेको हो । इजलास गठन भएको ४५ दिनभित्र विवाद निरुपण गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।

अब इजलासले पहिले आधिकारिकता मागदाबी गर्ने पक्षबाट आएका कागजातको प्रमाणिकता हेर्नेछ भने त्यसपछि जवाफ पठाउने पक्षबाट प्राप्त कागजपत्रको प्रमाणिकता पनि हेर्ने छ । त्यसपछि आयोगले दोस्रो प्रक्रियामा दुवै पक्षका केन्द्रीय समितिमा रहेका नेतालाई नागरिकतासहित आयोगमा बोलाउनेछ भने सोही आधारमा आधिकारिकताका लागि आयोगले बहुमत हेर्न सनाखतसमेत गर्नेछ ।सहमतिका पक्षमा दुवै पक्ष सहमत नभएपछि आयोगले ‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ४५ ९२० बमोजिम तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहने इजलास गठन गरी सुनुवाइ गर्नेछ,’ भन्ने ऐनमा उल्लेख छ ।

यसरी गठन हुने इजलासले विवाद निरुपणका लागि दुवै पक्षसँग सुनुवाइ गर्नेछ । सुनुवाइका लागि जसपाका दुवै समूहले आआफ्ना कानुनी सहयोगीसमेत राखेर बहस पैरवी गराउन सक्नेछन् । सो व्यवस्था ऐनमा नै छ । यसरी सुनुवाइमार्फत हुने छिनोफानो पुनरावेदन अदालतले गरेको निर्णयबराबर हुने आयोगले जनाएको छ । ऐनले नै अदालतको अधिकारसरह आयोगलाई सो कार्यका लागि अधिकार दिएको छ ।

जसपामा यादव पक्ष र ठाकुर पक्षबीच लामो समयदेखि आधिकारिकताको विवाद छ । दुवै पक्षले आआफ्नै समूह आधिकारिक रहेको दाबी गर्दै आइरहेका छन् । यस्तै दुवै समूहले एकअर्कामाथि कारबाहीसमेत गर्दै आइरहेका छन् । राजधानी दैनिकबाट