September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

विकास खर्च झन्डै तीन गुणाले बढ्यो

काठमाडौं, असार लागेपछि मुलुकको विकास खर्च अघिल्ला ११ महिनाको तुलनामा तीन गुणाले बढेको छ । आर्थिक वर्षको अन्तिम एक महिनामा खर्च र भुक्तानी बढाउने सरकारी प्रवृत्ति यस वर्ष पनि दोहोरिएको हो । 

जेठ मसान्तसम्ममा सरकारले कुल एक खर्ब ४३ अर्ब आठ करोड रुपैयाँ पुँजीगत खर्च गरेको थियो । यसलाई आधार मान्दा सरकारले जेठसम्ममा दैनिक औसत ४३ करोड ३५ लाख रुपैयाँ पुँजीगत खर्च गरेको थियो । तर, असार लागेपछि भने दैनिक औसत पुँजीगत खर्च एक अर्ब १७ करोड पुगेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ । १८ असारसम्म सरकारले २१ अर्ब नौ करोड रुपैयाँ विकास खर्च गरेको छ ।

सरकारले शुक्रबारसम्ममा वार्षिक विनियोजित विकास बजेटको ४६.५२ प्रतिशत अर्थात् एक खर्ब ६४ अर्ब १७ करोड रुपैयाँ विकास खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि तीन खर्ब ५२ अर्ब पुँजीगत बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्म ४०.५४ प्रतिशत खर्च भएको थियो । असार लागेपछिको १८ दिनमा सरकारले वार्षिक विनियोजित विकास बजेटको ५.९८ प्रतिशत खर्च बढाएको छ । 

सरकारले असार लागेपछिको १८ दिनमा सरकारले कुल एक खर्ब सात अर्ब १४ करोड रुपैयाँ बजेट खर्च गरेको देखिन्छ । यो जेठ मसान्तसम्मको खर्चको तुलनामा ७.२७ बिन्दु प्रतिशतले बढी हो । शुक्रबारसम्ममा सरकारले कुल १० खर्ब २३ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेको हो । जुन विनियोजित वार्षिक बजेटको ६९.४४ प्रतिशत हो । जेठ मसान्तसम्ममा सरकारको कुल खर्च वार्षिक विनियोजित बजेटको ६२.१७ प्रतिशत अर्थात् नौ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । 

विकास खर्च अपेक्षित हुन नसके पनि चालू खर्च भने नियमित र निरन्तर भइरहेको तथ्यांकले देखाउँछ । शुक्रबारसम्ममा सरकारले सात खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ चालु खर्च गरेको छ, जुन विनियोजित वार्षिक चालू बजेटको ८१.७२ प्रतिशत हो । असार लागेयता सरकारले ७५ अर्ब ३७ करोड रुपैयाँ चालू खर्च गरेको आजको नयाँ पत्रिकामा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको