September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

निरन्तर वर्षाका कारण पहाडमा पहिरो, तराईमा बाढी

काठमाडौं, निरन्तर वर्षाका कारण पहाडमा पहिरो बढेको छ भने तराई क्षेत्र बाढी र डुबानको चपेटामा परेको छ । पहिरोमा परेर धादिङ र गोरखामा पाँच जनाको मृत्यु भएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना८ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का अन्दाजी १८ वर्षीय वीरबल चेपाङ र चितवनबाट काठमाडौं जाँदै गरेको ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको गजुरीस्थित इलाका प्रहरीका नायब उपरीक्षक युवराज खड्काले बताए ।


पहिरोले पुरिँदा ना८ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का ४० वर्षीय हरिबहादुर चेपाङ, चितवन भण्डाराका ३६ वर्षीय सुदीप चेपाङ घाइते भएका छन् । घाइतेको चितवनमा उपचार भइरहेको छ ।

ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभमकुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजकुमार घाइते भएका छन् । उनीहरूको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, धादिङमा पृथ्वी राजमार्गस्थित महेश खोलाले थाक्रे–२ सिम्ले र वडा–११ जोड्ने निर्माणाधीन पक्की पुल भाँचेको छ ।

उता, सप्तरीको विभिन्न पालिकामा गरी पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।

हनुमाननगर कंकालिनी–९, १०, ११ र १२ का करिब ३ सय डुबानमा परेको नगर प्रमुख शैलेशकुमार साहले बताए । निरन्तरको वर्षाका कारण सप्तकोसीमा जलस्तर बढेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार बिहानदेखि प्रतिसेकेन्ड २ लाख क्युसेकभन्दा बढीका दरले कोसी ब्यारेजबाट बहाव भइरहेको छ । ब्यारेजका २९ वटा ढोका खोलिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।