
नवलपुर, पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा आज बिहानदेखि आगलागी भइरहेको छ । सो उद्योगको बियर र चाउचाउ उद्योग गर्ने प्लान्टमा आगलागी भएको हो भने बिहान साढे ८ बजेबाट सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा आएको छैन ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी प्रकाश मल्लका अनुसार सुरक्षाकर्मी र मजदुर दमकलसहित आगो निभाउन खटिएका छन् । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको छ ।
बियर र चाउचाउ राख्ने कागजको काटुनमा आगो लागेकाले चाँडै फैलिएको छ उनले बताए । चौधरी ग्रुपका सहायक प्रबन्धक सुवास देवकोटाले कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको जानकारी दिए ।







