March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

जसपा पनि सरकारमा

काठमाडौं, जेठ १८। जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निर्णय केही निर्णय भएको छैन । ‘सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट प्रस्ताव आएको छ, आउनुस्, सँगै काम गरौं भन्ने प्रस्ताव उहाँबाट आएको हो,’ कर्णले राजधानीसँग भने, ‘तर, हाम्रो पार्टीमा छलफल भएको छैन ।

छलफल गरेर भन्छौं भनेका छौं ।’ प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोका साथै छलफलमा सरकारले गठन गरेको संविधान संशोधन कार्यदल सदस्यको समेत सहभागिता रहेको छ । कार्यदल सदस्य कर्ण, सुवास नेम्वाङ, राजन भट्टराई र सर्वेन्द्रनाथ शुक्लसमेत छलफलमा सहभागी थिए । ओली र ठाकुरबीच यसअघि पनि सरकारमा सहभागी हुने विषयमा कुराकानी हुँदै आएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार ठाकुरले आठ मन्त्री र दुई राज्यमन्त्री पाउनुपर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्री ओलीले गृहबाहेक खाली ६ मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतको दाबी छ । ‘गृहबाहेक खाली मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभएको छ,’ जसपा स्रोतले भन्यो, ‘हामीले १० मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छौं । तर, अहिले ठोस निर्णय केही भएको छैन ।’ जसपाले संविधान संशोधन, झुठा मुद्दा फिर्ता, जेलमा रहेका नेता रेशम चौधरीको रिहाइ, नागरिकता समस्या समाधानलगायत मुद्दा उठाउँदै आएको छ । सरकारले केही माग पूरा गरेको र केही पूरा हुने प्रक्रियामा रहेकाले जसपा सरकारमा सहभागी हुन सक्ने सम्भावना बढेर गएको छ । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको