
काठमाडौं, गुणस्तरहीन ‘सेनिटाइजर’ बनाएर बिक्री गर्दै आएका एक युवा सोमबार पक्राउ परे । औषधि व्यवस्था विभाग र नेपाल प्रहरी अपराध महाशाखाको अनुगमन टोलीले अनुगमनका क्रममा गुणस्तरहीन ‘सेनिटाइजर’सहित २३ वर्षीय दुर्गा भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।
इन्टरनेटमा हेरेर गुणस्तरहीन ‘सेनिटाइजर’ बनाएर बिक्री गर्ने गरेका ती युवाको उत्पादन स्थलमा रहेको तीन हजार ८१ लिटर मिथानोल नामक विषाक्त रसायन मिसावट गरेको ‘सेनिटाइजर’ जफत गरी नष्ट गरिएको छ । भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्रान्डको लोगो नक्कल गरी हानिकारक मिथानोल नामक रसायन प्रयोग गरिएको ‘सेनिटाइजर’ उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाएको अनुसन्धानमा खुलेको बताइएको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले उपभोक्ताको गुनासो र उजुरीका आधारमा अनुगमनका क्रममा तीनवटा ‘ह्यान्ड सेनिटाइजर’ उत्पादक उद्योग कारबाहीको प्रक्रियामा रहेको जानकारी दिए । ती उद्योगले विभागमा बिनादर्ता मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर ‘ह्यान्ड सेनिटाइजर’ उत्पादन गरेको पाइएको उहाँको भनाइ छ । विभागले मापदण्डविपरीत उत्पादन गरिएका त्यस्ता ‘सेनिटाइजर’ प्रयोग नगर्न सर्वसाधारणलाई सूचनामार्फत आग्रह गर्दै आएको छ ।गोरखापत्रबाट







