
काठमाडौं, ओलीले एकातिर संसद् विघटन गर्ने अर्कातिर समानुपातिक सांसदसँग स्पष्टीकरण सोधिएको छ, यसको अर्थ प्रधानमन्त्रीले गरेको संसद् विघटन भोलिका दिनमा सर्वोच्च अदालतले पुनस्र्थापना गर्छ भन्ने नै हो । संसद् पुनस्र्थापना भयो भने उनीहरूलाई हटाएर नयाँ सांसद बनाउने स्पष्टीकरणको उद्देश्य देखिन्छ ।
स्पष्टीकरण मागिएका संघीय सांसद
झलनाथ खनाल, माधव नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु । उनीहरूमध्ये नेपाल, खनाल र रावलबाहेक सबै सांसद समानुपातिक सूचीका हुन् ।
स्पष्टीकरण मागिएका बागमतीका सांसद
अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, पार्वती सिलवाल र लक्ष्मण लम्साल ।
एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई कारबाही अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । खनाल–नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री केपी ओलीको यो कदमले पुनः संसद् पुनस्र्थापनाको सम्भावना बढाएको बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल र खनालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरणको जवाफ हेरेर थप कारबाही अगाडि बढ्न सक्ने बताए । ‘आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हराउन र विपक्षी दलको नेतालाई जिताउन हस्ताक्षर गरेका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने, ‘उहाँहरूको स्पष्टीकरण हेरेर पार्टीले अरू थप निर्णय गर्नेछ ।’
यसअघि पार्टी सदस्यताबाट निलम्बन फुकुवा गरिए पनि यसपटक भने चित्तबुझ्दो जवाफ नआए दोहोर्याएर उन्मुक्ति नदिने गरी नै कारबाहीको प्रक्रिया अगाडि बढाइनेसमेत उनले प्रस्ट्याए । ‘यसअघि हामीले केही साथीलाई उन्मुक्ति दिएका हौँ, अब त्यसो गर्दैनौँ,’ उनले भने । देउवालाई प्रधानमन्त्रीमा समर्थनका लागि हस्ताक्षर गर्ने बाँकी १५ सांसदले भने हस्ताक्षरबारे बेग्लै सूचना जानकारी गराएकाले बुझेर मात्र निर्णयमा पुग्ने पनि ज्ञवालीले जानकारी दिए । नयाँ पत्रिकाबाट







