
काठमाडौं, कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड मिचेर होम आइसोलेसनमा बसेका बेला शपथ लिएका गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू नियुक्त भएको आठ दिनपछि बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । दोस्रोपटक मुख्यमन्त्री भएका गुरुङले यसअघिकै मन्त्रीलाई निरन्तरता दिएका छन् । बुधबार उनले पाँच मन्त्री बनाएका छन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचमध्ये सबैभन्दा ठूलो दलको नेताको हैसियतले २९ वैशाखमा एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङलाई प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनी मुख्यमन्त्रीमा नियुक्त भए पनि मन्त्रिपरिषद् भने विस्तार गरेका थिएनन् ।
गुरुङलाई २२ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा थिए । तर, होम आइसोलेसनमा रहेका बेला कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड मिचेर उनले शपथ लिएका थिए । उनले प्रदेश प्रमुखको निवासमा आयोजना गरिएको कार्यक्रममा पुगेर शपथ खाएका थिए । स्वास्थ्य समस्याका कारण त्यस दिन उनले मन्त्रिमण्डल विस्तार गरेका थिएनन् ।
पुराना पाँचमध्ये दुईजनालाई यसअघिकै मन्त्रालयको जिम्मा दिए पनि तीनजनालाई भने विनाविभागीयमन्त्री नियुक्त गरेका हुन् । नियुक्त पाँचमध्ये चारजनाले बुधबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । एकजना काठमाडौं रहेकाले शपथमा सहभागी हुन सकेनन् ।
नियुक्त हुनेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको मन्त्रीमा किरण गुरुङ र युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) रहेका छन् । मनाङे हाल काठमाडौंमा रहेकाले शपथ कार्यक्रममा सहभागी हुन सकेनन् ।
यसैगरी विनाविभागीयमन्त्रीमा रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्साल रहेका छन् । उनीहरूमध्ये बस्नेत यसअघि भौतिक पूर्वाधार विकासमन्त्री, पुन सामाजिक विकासमन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका थिए ।
नयाँ मन्त्री नियुक्तसँगै बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ लाई संशोधन गर्ने निर्णय गरेको छ । सो नियमावली संशोधनसँगै मन्त्रालय फुटाउने बाटोसमेत खुलेको छ ।नयाँ पत्रिकाबाट







