
काठमाडौं, राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्नो पक्षका मतदातालाई ‘स्वविवेकीय अधिकार’ दिने भएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता एमालेका छन् ।
बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार अपराह्न वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेर सहयोगका लागि आग्रह गरेका थिए । बादलले गठबन्धनका तर्फबाट उठाइएका डा. खिमलाल देवकोटालाई उम्मेदवारीबाट फिर्ता गराउन आग्रह गरे पनि नेपालले औपचारिक रूपमा त्यसरी निर्देशन दिन नसकिने, तर आफूनिकट मतदातालाई स्वविवेक प्रयोग गर्न दिएर सहयोग गर्ने वचन दिएका छन् ।
छलफलै नगरी एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय सभाका लागि उम्मेदवार बनाएपछि नेपालले कांग्रेस र माओवादीसँगसमेत छलफल गरेर डा. खिमलाल देवकोटालाई उम्मेदवार बन्ने बाटो खुला गरेका थिए । आफूसहितको संलग्नतामा गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारलाई औपचारिक रूपमा उम्मेदवारीबाट फिर्ता गराउन नसकिने नेपालले प्रस्ट्याएका छन् ।
‘आज (मंगलबार) रामबहादुर थापा कोटेश्वर निवासमा आई राष्ट्रिय सभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,’ नेपालका स्वकीय सचिव मोहन गौतमले भेटवार्ताबारे विज्ञप्तिमार्फत भनेका छन्, ‘त्यसपछि थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौँ भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्नेमा सहमति छ ।’
तर, गृहमन्त्री बादलको सचिवालयले भने वरिष्ठ नेता नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको दाबी गरेको छ । ‘भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो,’ गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेसनोटमा भनिएको छ, ‘भेटमा नेता नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो ।’
राष्ट्रिय सभा उपनिर्वाचनमा बादल एमालेका तर्फबाट सूर्य चिह्नमा तथा कांग्रेस, माओवादी र जसपाको एउटा समूहको गठबन्धनबाट डा. देवकोटा कलम चिह्नबाट उम्मेदवार छन् । तर, उनको उम्मेदवारी स्वतन्त्रकै हैसियतमा छ । त्यस्तै, उपनिर्वाचनमा नेमकिपाले पनि उम्मेदवारी दिएको छ ।नयाँ पत्रिकाबाट







