
काठमाडौं, नेपालले चीनसँग आकस्मिक सहयोगस्वरूप तत्कालै अक्सिजन प्लान्ट मागेको छ । दोस्रो लहरको कोभिड–१९ महामारीसँग जुध्न अक्सिजनको चरम अभाव रहेको भन्दै नेपालले अक्सिजन उत्पादन गर्ने प्लान्ट माग गरेको हो ।
अर्थ मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) बीच शुक्रबार भिडियो कन्फरेन्समार्फत भएको दुईपक्षीय वार्तामा नेपालले अक्सिजन प्लान्ट आकस्मिक सहयोग गर्न आग्रह गरेको हो ।
यअसघि चीनले नेपाललाई ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर सहयोग दिने प्रतिबद्धता गरिसकेको छ । त्यसअनुसार पहिलो चरणमा ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर नेपाल आइसकेको छ ।
नेपालको आग्रहमा चिनियाँ पक्ष सकारात्मक रहेको वार्तामा सहभागी अर्थ मन्त्रालयका चिनियाँ डेक्स हेर्ने उपसचिव डिबी क्षत्रीले जानकारी दिए । चिनियाँ पक्षले अक्सिजन प्लान्टका विषयमा थप अध्ययन गरेर जवाफ दिने बताएको उपसचिव क्षत्रीले जानकारी दिए ।
भिडियो कन्फरेन्समा नेपाली टोलीको नेतृत्व अर्थसचिव शिशिरकुमार ढुंगाना र चिनियाँ पक्षको नेतृत्व सिड्काका उपाध्यक्ष देङ बोकिङले गरेका थिए । वार्तामा दुवै मुलुकका परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समेत प्रतिनिधित्व थियो ।
चीनले नेपाललाई थप ५ मिलियन आरएमबी (करिब ९ करोड ८ लाख रुपैयाँ) आकस्मिक सहयोग दिने भएको छ । शुक्रबार भएको वार्तामा सिड्काका उपाध्यक्ष बोकिङले कोभिडसँग जुध्न नेपाललाई ५ मिलियन आरएमबी थप सहयोग गर्ने घोषणा गरेको हो ।
दुई साताअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित ५ दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीसँग भिडियो कन्फरेन्स गर्दै कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा सघाउन ५० लाख आरएमबी सहयोग गर्ने घोषणा गरेका थिए ।नयाँ पत्रिकाबाट







