March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

कोरोनाका कारण रासायनिक मल बिक्रि वितरण प्रभावित

काठमाडौं, कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ । मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले बिक्री केन्द्रहरू बन्द गराउन थालेका छन् ।

मल बिक्री केन्द्रहरू बन्द हुन थालेपछि ठाउँठाउँमा किसानलाई मलको हाहाकार हुन थालेको छ । कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार बाहिरबाट आउने रासायनिक मलको प्रवेश बिन्दुका रूपमा रहेको नवलपरासी बन्द भइसकेको छ । हेटौँडाको बिक्री केन्द्र शुक्रबारदेखि बन्द गरिने र एक/दुई दिनमा विराटनगर, भैरहवा र वीरगञ्जको मुख्य बिक्री केन्द्र पनि बन्द हुने उनले बताए ।

ती बिक्री केन्द्र तथा कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना पोजेटिभ देखिन थालेपछि काम गर्न गाह्रो भइरहेको थियो । त्यसमा पनि मलका लागि भीडभाड भइरहेका कारण जिल्ला प्रशासन कार्यालयले बन्द गराउन निर्देशन दिएपछि आफूहरूले बाध्य भएर बन्द गर्न लागेको उनले बताए ।

कोरोना भाइरसबाट कर्मचारीहरू प्रभावित हुन थालेपछि थोरै कर्मचारीले पनि काम गरौँ भन्ने सोच बनाई त्यसैअनुसार व्यवस्था पनि मिलाइरहेकामा सीडीओहरूले नमानेपछि बाध्य भएर बन्द गर्न लागेको उनले बताए । बिक्री केन्द्रहरू बन्द भएपछि तत्कालै किसान प्रभावित हुँदैनन् तर त्यसको असर एक/दुई हप्तापछि देखिन थाल्छ ।

भैरहवा, विराटनगर, वीरगञ्ज, नवलपरासी र हेटौँडाबाट अन्य बिक्री केन्द्रमा जानुपर्ने मल गइसकेको र त्यहाँबाट बिक्री भइरहेको छ । यी मुख्य केन्द्रहरू बन्द भएपछि केही दिनमा त्यसको असर देखिन्छ । भारतलगायत अन्य देशबाट रेलमार्फत आएका मल पनि गोदामसम्म ल्याउन सकिएको छैन । कोरोनाका कारण कामदारको अभाव छ । जो जहाँ छन्, त्यहीँ थन्किएर बसेका छन् ।

बङ्गलादेशबाट आउनुपर्ने पहिलो र दोस्रो लटको मल आइसकेको छ । तेस्रो लटको १७ हजार पाँच सय मेट्रिक टन मल ल्याउन समस्या भइरहेको प्रमुख भण्डारीले बताए । उनले कोरोना महामारीका कारण बङ्गलादेशमा रहेको मल लोड–अनलोडमा समस्या भइरहेको र कोरोनाका कारण मल ल्याउन केही समय लाग्ने बताए ।

शीर्ष समाचार

धेरै पढिएको