April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

फार्मेसीकै संलग्नतामा हुन्छ रेम्डिसिभिरको कालोबजारी

काठमाडौं, गम्भीर सङ्क्रमितका लागि प्रयोग हुँदै आएको रेम्डिसिभिर इन्जेक्सनको कालोबजारीमा सङ्क्रमितको उपचार गरिरहेका अस्पतालकै फार्मेसीको संलग्नता रहेको पाइएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालको फार्मेसीकै संलग्नतामा कालोबजारी भएको पाइएको प्रहरीले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालको गौतमबुद्ध नेपालगञ्ज फार्मेसीले ठूलो मात्रामा रेम्डिसिभिरको कालोबजारी ठहर गर्दै दुई लाख जरिवाना गरिएलगत्तै यस्तै अर्को घटना सार्वजनिक भएको हो ।

प्रहरीले दुई भायल रेम्डिसिभिरलाई ५० हजारमा बिक्री गरिरहेका दुई युवालाई पक्राउ गरेको छ । उनीहरूले दिएको बयानका आधारमा भेरी अस्पतालको फार्मेसीमा छापा मारेर प्रहरीले ३२ भायल रेम्डिसिभिर बरामद गरेको छ ।

रेम्डिसिभिर बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका नेपालगञ्ज–८ का २३ वर्षीय मोहम्मद जावेद अन्सारीले सो इन्जेक्सन भेरी अस्पतालको फार्मेसीबाट ल्याएको जनाएपछि प्रहरीले सो फार्मेसीमा रहेको रेम्डिसिभिरलाई नियन्त्रणमा लिई बिक्री वितरणमा रोक लगाएको छ ।

प्रहरीले नेपालगञ्ज–८ का अन्सारीसहित नेपालगञ्ज–११ का २५ वर्षीय हारुन अंशुलाई चर्को मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

बाँकेका भेरी अस्पताल र मेडिकल कलेजमा गम्भीर किसिमका सङ्क्रमित धेरै भर्ना रहेकाले उनीहरूका आफन्त रेम्डिसिभिर इन्जेक्सनको खोजीमा भौँतारिनुपर्ने अवस्था छ ।

सोही अवस्थाको लाभ उठाएर अस्पतालकै फार्मेसीले सो औषधिको कालोबजारी गरिरहेको पाइएको भेरी अस्पतालको फार्मेसीका बारेमा अनुसन्धान गरिरहेको बाँकेका प्रहरी प्रमुख ओम रानाले बताए ।गोरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको