June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

महामारीका कारण करिब १० लाख यातायात मजदुर कामविहीन

काठमाडौं, बढ्दो कोरोना संक्रमणसँगै सरकारले अत्यावश्यकबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाएको छ । यससँगै यातायात क्षेत्रमा काम गरेर परिवार पाल्ने देशभरका करिब १० लाख यातायात मजदुर कामविहीन बन्न पुगेका छन् । 

वित्तीय संस्थाबाट कर्जा लिएर सवारीसाधन किनेका र स्वरोजगार हुने क्रममा रहेकाहरू ब्याजसहितको किस्ता तिर्न नसक्दा ऋणमा फस्दै गएका छन् । त्यस्तै, आर्थिक उपार्जन नहुँदा आश्रित परिवार दैनिक हातमुख जोड्ने समस्यामा पर्न थालेका छन् ।   

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक सवारीसाधन देशभर करिब ३ लाख रहेका छन् । ती सवारीसाधनमा करिब ९ लाख मानिस आश्रित छन् ।

अहिले यातायात सञ्चालन ठप्प भएपछि अधिकांश मजदुरको अवस्था बिहान–बेलुकाका लागि छाक टार्न कठिन हुँदै गएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।

त्यसबाहेक कर्जा लिएर सवारी खरिद गरेकालाई निषेधाज्ञाले झन् अप्ठ्यारोमा पारेको छ । ‘कमाइ ठप्प हुँदा किस्ता तिर्न नसक्ने, तर वित्तीय संस्थाबाट निरन्तर किस्ताका लागि दबाब आउने गरेको छ,’ उनले भने । 

त्यस्तै, देशभर सञ्चालनमा रहेका करिब ६५ हजार मालबाहक साधनमध्ये १५ प्रतिशत मात्र सञ्चालनमा छन् । यो कुल ढुवानी साधनमध्ये २० प्रतिशतभन्दा कम हो । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका अनुसार अहिले अत्यावश्यक दैनिक उपभोग्य (खाद्यान्न) सामान र  निर्माण सामग्री ढुवानी गर्नका लागि मात्र ढुवानीका साधन सञ्चालनमा छन् । 

‘त्यसबाहेकका ढुवानीका सवारीसाधन ग्यारेजमा थन्किएका छन्,’ नेपाल टिपर तथा ट्रक व्यवसाय समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले भने । यो क्षेत्रमा काम गरिरहेकामध्ये १ लाखभन्दा धेरै कामदार अहिले कामविहीन बनेका छन् । ‘यसले कामविहीन बनेका मजदुरको परिवारलाई ठूलो असर गरिरहेको छ,’ उनले भने । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको