June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

तातोपानी नाकाबाट नौ महिनामा ७७ करोड राजस्व संकलन

सिन्धुपाल्चोक, कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालन भइरहेको उत्तरी तातोपानी नाकाबाट नौ महिनामा ७७ करोड राजस्व संकलन भएको छ । चीन र नेपाल सीमाको तातोपानी नाकाबाट नयाँ मोडालिटीअनुरूप स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइएको छ ।

दिनहुँ आठवटा कन्टेनरबाट युरिया मल, स्याउ र हाइड्रोपावरका उपकरणलगायत सामग्री भित्रिइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘गत साउनदेखि वैशाखसम्म ७७ करोड राजस्व संकलन गरिएको छ, कोभिडबीच कडा सतर्कता अपनाएर कन्टेनर भित्र्याइँदै छ,’ उनले भने ।

भोटेकोसी गाउँपालिका–२ तातोपानी लिपिङ क्षेत्रको पुरानो भन्सार कार्यालयदेखि मितेरी पुलसम्म आइसोलेट क्षेत्रमा ‘टेलर’ कन्टेनर प्रयोगमा ल्याइएको छ । यसअघि ७ जना कामदारमा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका तीन महिना बन्द भएको थियो । त्यसलगत्तै सावधानी अपनाउन नयाँ प्रयोग गर्दै सिल्क ट्रान्सपोर्ट कम्पनीका ५ वटा ‘ट्रेलर’ कन्टेनरबाट सामग्री भित्र्याउन सुरु गरिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड राजस्व संकलन भएको थियो । त्यसबेला दिनहुँ ५० कन्टेनर भित्रिने गरेका थिए । २०७६ पुसमा चीन क्षेत्रमा कार्यरत केही कामदारमा कोरोना देखियो । २०७७ असारमै तातोपानीमै लोडरको काम गर्नेमा संक्रमण पुष्टि भएपछि नाका पूरै ठप्प बन्यो ।कान्तिपुर दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको