May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सगरमाथामा हालसम्मकै धेरै आरोहीले लिए आरोहण अनुमति

  • 17
    Shares

काठमाडौं, कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले शुक्रवारसम्म जारी गरेको हिमाल आरोहणको परमिट पाउनेमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् ।

सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जानकारी दिएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो ।

उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् । यस्तै धवलागिरि हिमालका लागि पाँच र अन्नपूर्ण हिमाल आरोहणका लागि चार आरोही समूहले अनुमति पाएका छन् ।आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको