December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

उच्च जोखिममा रहेका स्थानीय तहका शैक्षिक संस्था बन्द गरिने

काठमाडौं, सरकारले कोभिड– १९ को उच्च जोखिम भएका  सहरमा भौतिक उपस्थितिमा हुँदै आएको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरूमा वैकल्पिक विधिबाट पठनपाठन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्लाका सबै र अन्य जिल्लामा उच्च जोखिम रहेका पालिकाका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिकालाई कोभिडले बढी असर गरेकाले वैशाख मसान्तसम्मका लागि भौतिक कक्षा बन्द गरी भर्चुअल पठनपाठनलाई निरन्तरता दिने निर्णय भएको बताए । 

स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले उच्च जोखिम भएको स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गराउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । मंगलबारबाटै वैकल्पिक विधिबाट पठनपाठन सुरु हुने उनले बताए । 

संक्रमणका आधारमा स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई उच्च जोखिममा राखी विद्यालयलगायतका क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई उच्च जोखिमको सूचीमा राखिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको