December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

अख्तियारको कामलाई नै बनाउन थाले धन्दा, एकै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनलाई केही व्यक्तिले ‘धन्दा’ बनाउन थालेको पाइएको छ। अदालतमा पुगेको कागजातका आधारमा एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएका छन्। तिनले कृत्रिम सेवाग्राहीका रूपमा अख्तियारमा उजुरी दिई त्यहींबाट ल्याएको पैसा खुवाएर फन्दामा पार्ने गरेको देखिएको छ।

ललितपुर गोदावरीका राजकुमार तिमल्सिनाले १३ स्ट्रिङ अपरेसन गराएका हुन्। मोहनलाल ढकालको मुद्दामा २०७७ चैत १८ गते विशेष अदालत काठमाडौंमा गरेको बकपत्रको सवाल–जवाफको १४ र १५ नम्बरमा त्यो उल्लेख छ। मुद्दा नम्बर ००४१ मा उनले १३ वटामध्ये ७ वटाको नाम खुलाएका छन्। बाँकी ६ वटाको भने खुलाएका छैनन्।

विशेष अदालतको विवरणअनुसार उनले स्टिङ अपरेसन गराएका मुद्दामा ०७६–सीआर–००११२ मा सिन्धुलीका ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीे, सुनसरीका ट्राफिक प्रहरी भीमबहादुर कटुवालसमेत ०७६–सीआर–००१७, अपराध अनुसन्धान विभाग काठमाडौंमा कार्यरत जय नेपाल थापा ००७६–सीआर–०२२० छन्।

त्यस्तै लक्ष्मण रायमाझी जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायबसुब्बा ०७६–सीआर–०४४३, करदाता सेवा कार्यालय इलाममा कार्यरत मोहनलाल ढकाल ०७७–सीआर–००४१, विदुर रेग्मी ०७५–सीआर–००४१ छन्। उनले सिन्धुली ट्राफिक प्रहरी जवान प्रेमप्रसाद यादवलाई पनि स्ट्रिङ गराएकामा आयोगले सफाइ दिएको थियो। उनले कार्यालयमा सेवाग्राहीका रूपमा प्रवेश गर्ने तरिका विभिन्न अपनाउने गरेको देखिन्छ।

कुनै घटनामा मामाको कामका लागि गएको देखाउने, कुनै घटनामा आफ्नो ड्राभरको कामको सम्बन्ध देखाउने, कुनै घटनामा उनाउ कामका लागि निवेदन पेस गरेको देखाउने गरेको भेटिएको छ।

त्यस्तै राम सागर बिल्डर्सका प्रोप्राइटर खडानन्द पौडेल भन्ने राम पौडेल र सागर लुइँटेलले धेरै स्ट्रिङ गराएका छन्। उनीहरूले अख्तियारबाट रकम लिई धेरैवटा स्ट्रिङ गराएको खुलेको छ।

सिँचाइ डिभिजन कार्यालय चितवनमा कार्यरत रामभद्र पण्डित, चक्रपाणि लामिछाने, मधु अधिकारी, ऋषिभक्त तिमिल्सिनालाई २०७१ असार ३० गते स्टिङ गराएका थिए। उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ।

पौडेलले नारायणी लिफ्ट सिँचाइ प्रणालीको नहर निर्माण गर्ने कार्य र ढुंग्रे खोला झवाने सिँचाइ आयोजनाको ठेक्काको कार्य सम्पन्न गर्न सिँचाइका कर्मचारीलाई स्टिङ गराएका थिए।

कर्मचारीले १० प्रतिशत कमिसन मागेको र नदिए धरौटी तथा कार्यसम्पन्न प्रमाणपत्र नदिने भनी धम्क्याएको उनले बयानमा बताएका छन्। कार्यालय प्रमुख राजेन्द्र थापालाई ५० हजार, इन्जिनियर पण्डितलाई १ लाख ३८ हजार, अधिकारीलाई ९० हजार, लामिछानेलाई १ लाख र तिमल्सिनालाई ३० हजार अख्तिायरबाटै उपलब्ध गराइदिएको मुद्दामा उल्लेख छ। अन्नपूर्ण पोस्टबाट

शीर्ष समाचार

धेरै पढिएको