December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

वैशाखभित्रै जनकपुर-जयनगर रेल सञ्चालन गर्ने तयारी, २२६ जनशक्ति नियुक्ति गर्न स्वीकृति

काठमाडौं, सरकारले २ असोज ०७७ मा जनकपुर ल्याएर राखेका रेल ०७८ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुर आइपुगेको ७ महिनापछि रेल सञ्चालनको अन्तिम तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १ सयजना कर्मचारी नियुक्त गरेको छ । त्यस्तै, भारतबाट २६ जना दक्ष जनशक्ति यही हप्ताभित्र आइपुग्ने निश्चित भएको छ । रेल सञ्चालनमा आउनुअघि कर्मचारीलाई दुई हप्ताको तालिम दिने कार्यक्रम छ । २५ वैशाखभित्र तालिमको काम सकेर रेल सञ्चालन गरिने तयारी छ । ‘कुनै कारणले रोकिएमा जेठ पहिलो हप्तासम्म लम्बिएला, अन्यथा वैशाखभित्र नै रेल सञ्चालनमा ल्याउने हो,’ महाप्रबन्धक भट्टराईले भने । पछिल्ला ३ वर्षदेखि जनकपुर–जयनगर रेल सञ्चालनको मिति तोक्ने, तर सञ्चालनमा नआउने भइरहेको छ ।

तत्काल ३४ किलोमिटरमा मात्र रेल सञ्चालन
सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर, तत्काल जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ । चालू आर्थिक वर्षभित्र नै थप १७ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनका लागि रेलमार्ग तयारी भइसकेको छ । यसपछि रेल सञ्चालन हुने लम्बाइ ५१ किलोमिटर पुग्नेछ । बिजलपुरादेखि–बर्दिवास १८ किलोमिटरको दूरीमा छ । त्यस क्षेत्रमा भने जग्गा प्राप्तिको काम अझ सकिएको छैन ।

२२६ जनशक्ति नियुक्ति गर्न स्वीकृति
६ माघ ०७६ को मन्त्रिपरिषद्ले जयनगर–जनकपुर कुर्थाखण्डमा रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । बैठकले रेल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिएको हो । रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दी आवश्यक छ । नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको