November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

वैशाखभर भर्चुअल कक्षा सञ्चालन गर्न सिफारिस

काठमाडौं, कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

सिफारिसलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरे अब चालु महिनाभरि अतिप्रभावित जिल्लाका शैक्षिक संस्था बन्द हुनेछन् । पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेको थियो ।

तर शिक्षा मन्त्रालयलाई निजी विद्यालय सञ्चालकहरूले अहिले नै विद्यालय बन्द गर्न नहुने भन्दै दबाब दिएपछि सरकारले के गर्ने भन्ने अन्योल थियो । तर सीसीएमसीको शनिबारको बैंठकले स्वास्थ्य मन्त्रालयकै प्रस्तावलाई छलफल गरेर अघि बढाउन स्वीकृति दिएको हो ।

सीसीएमसीका एक सदस्यका अनुसार अहिलेका लागि वैशाख मसान्तसम्म कोरोना भाइरसको संक्रमणको अवस्था हेर्ने र त्यसपछि अर्को निर्णय लिने गरी अहिले सिफारिस गरिएको हो । स्वास्थ्य मन्त्रालयले यसअघि नै काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको थियो ।

मन्त्रालयले कोरोना भाइरस संक्रमणको अतिप्रभावित जिल्लाका रूपमा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई वर्गीकरण गरेको छ ।कान्तिपुर दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको