November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

कोरोनाबाट बालबालिका बढी प्रभावित, १० वर्ष उमेरसम्मका साढे ६ हजार संक्रमित

काठमाडौं, केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन ।

अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा ‘विद्यार्थी नपठाउन’ अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

हालसम्म कोरोना संक्रमणबाट १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ बालबालिका संक्रमित भएका छन् । ० देखि २० वर्ष उमेर समूहका २४ हजार ४ सय ४० मा संक्रमण देखिएको छ । तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय १६, प्रदेश २ मा ३ सय ५१ बालबालिका १० वर्ष उमेर समूहका संक्रमित छन् । बाग्मती प्रदेशमा सबैभन्दा बढी ३ हजार ४ सय ८६, गण्डकी प्रदेशका ३ सय ३०, लुम्बिनी प्रदेशका ६ सय ८९, कर्णाली प्रदेशका २ सय २० र सुदूरपश्चिम प्रदेशका ८ सय २ बालबालिकामा संक्रमण देखिएको छ । शुक्रबार देशभर ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार ० देखि ९ वर्ष समूहका १५ र १० देखि १९ वर्ष समूहका ६६ बालबालिका कोरोना संक्रमित भएका छन् । सरकारले विद्यालय बन्द नगर्ने तर विद्यालयमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन रणनीति अघि सारेको छ ।

मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय बन्द गर्न गरिएको निर्णय कार्यान्वयनमा ल्याउन र स्वास्थ्य मापदण्ड पालनमा आग्रह गरेको छ । शिक्षण संस्थाभित्र सभा तथा भीडभाड नगर्न सुझावसमेत दिइएको आजको राजधानी दैनिकमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको