May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

भन्सार प्रतिनिधिकै मिलिमतोमा १ करोड १३ लाखभन्दा बढी राजस्व छली

  • 7
    Shares

काठमाडौं, सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको फेला परेको छ । राजस्व अनुसन्धान विभागले गरेको एउटा मुद्दाको अध्ययनमा यतिधेरै राजस्व छलेर ठगी गर्नेमा भन्सार प्रतिनिधिकै मिलेमतो देखिएको हो ।

निकै गहन एवं सूक्ष्म अनुसन्धानपछि काठमाडौंको जयपशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससमेत पाँच जनाले भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठको मिलेमतोमा १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ राजस्व छली गरेको पत्ता लगाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । अहिले उनीहरूविरुद्ध भन्सार छली राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार धनुषाको देवपुरा रुपैठा स्थायी घर भई हाल काठमाडौंको बांगेमुढा बस्ने जयपशुपति इम्पेक्सका प्रोप्राइटर दाससहित विभिन्न पाँच जनाविरुद्ध १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ बिगो, जरिमाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको छ । यस फर्मका प्रोप्राइटर दास र भन्सार प्रतिनिधि श्रेष्ठको मिलिमतोमा भारतीय ट्रकमा सिसाको खाली बोतलमा पोते लोड गरी ल्याउने गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।

अनुसन्धानको क्रममा उनीहरूसँग पोतेको भन्सार तिरेका कागजात माग गर्दा पेस गर्न नसकेकाले सरकारलाई हानिनोक्सानी पुर्‍याउने मनसाय तथा योजनाका साथ चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको