April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

एमसीसीबारे संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकोमा सभामुखप्रति ओलीको असन्तुष्टि

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकामा सभामुखप्रति असन्तुष्टि जनाएका छन्। सरकारले संसद्मा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौं। र, टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन। हामी त्यसको माग गरिरहेका छौं’, प्रधानमन्त्री ओलीले बुधबार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन। त्यो गर्नै पर्ने हुन्छ तर संविधान नै नमान्ने, जिद्दी गर्ने त्यो प्रवृति हामी झेलिरहेका छौं। हामी चाहन्छौं, फाटोको खेती होइन। आपसमा, परस्परमा, वैमनस्यता र घृणा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो।’

प्रधानमन्त्री ओलीले संविधानले गरेको व्यवस्थाअनुसार अध्यादेश पेस गर्न नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘अचम्म ! लडेर ल्याएको संसद्, मुद्दा लडेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्ने÷गर्नुपर्ने अध्यादेश संसद्मा प्रस्तुत गर्न नदिएर एउटा अप्रिय र अशोभनीय स्थितिको निर्माण भएको छ’, प्रधानमन्त्री ओलीले भने।

ओलीले अध्यादेशबाट एसिड आक्रमणविरुद्धको कडा कानुन ल्याएको उल्लेख गरे। यस्तै, बलात्कार, बलात्कारपछिका हत्याजस्ता कुरालाई नियन्त्रण गर्न कानुन ल्याएको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘छाउपडी होस्, बोक्सी होस्, यसविरुद्ध हामीले अभियान चलाएका छौं। एसिड आक्रमणविरुद्ध अध्यादेश, त्यो जरुरी कुरा बन्यो। समाजले त्यसमा सरकारको बढी ध्यानाकर्षण पनि गर्‍यो’, ओलीले भने।

ओलीले वर्ष २०७७ मा कोभिड महामारीबीच सरकारले उल्लेख्य काम गरेको बताए। असहज परिस्थितिमा दीर्घकालीन महत्वका काम भएको दाबी ओलीले गरे। उनले प्रतिकूलताबीच राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफल वर्ष रहेको बताए। ‘०७७ साल कोभिडको महामारी भए पनि केही राजनीतिक अस्वस्थता देखापरे पनि निरर्थक वर्ष रहेन’, उनले भने, ‘एउटा उपलब्धिको वर्ष नै रह्यो।’

उनले कोरोना महामारीको जोखिम अझै रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरे। उनले कोभिड १९ को महामारीबाट बच्न स्वास्थ्य सतर्कताका मापदण्ड कडाइसाथ पालना गर्न सबैलाई आह्वान गरे। अन्नपूर्ण पोस्टबाट

शीर्ष समाचार

धेरै पढिएको