May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

महासंघको भिजन: एक दशकमा देशको अर्थतन्त्र ३ गुणाले बढ्ने

  • 3
    Shares

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघले आगामी एक दशकमा मुलुकमा १ खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकिने बताएको छ । महासंघले समुन्नत नेपाल निर्माणका लागि एक दशकको भिजन पेपर ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ तयार गर्दै यस्तो परिकल्पना गरेको हो ।

दशवर्षे भिजन पेपर इमानदारीपूर्वक कार्यान्वयन गर्न सकिए सन् २०३० सम्म निजी क्षेत्रबाट मात्रै १ खर्ब ८ अर्ब डलर लगानी हुने महासंघको भनाइ छ । महासंघले आउँदो दशक मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने विषयमा भिजन पेपर तयार गरेको हो ।

भिजन पेपरमा दिगो र उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, अर्थतन्त्रको आकार बढाउने, रोजगारी सिर्जना गर्नेलगायत लक्ष्य लिइएको उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । आगामी दशकको आर्थिक रूपान्तरणको मार्गचित्र तयार पारेको उनको भनाइ छ । ती लक्ष्यलाई पूरा गर्ने बलियो आधार र सुझाबसमेत भिजन पेपरमार्फत दिइएको छ । 

भिजन पेपरले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार तीन गुणा बढाउने लक्ष्य लिएको छ । महासंघले अहिलेको करिब ३४ अर्ब डलरको अर्थतन्त्र सय अर्ब डलरमा पुर्‍याउने लक्ष्य लिइएको छ । भिजन पेपरमा आगामी दशकमा थप २२ लाखले रोजगारी पाउने उल्लेख छ । हाल व्यापार घाटा र अर्थतन्त्रको अनुपात करिब २८ प्रतिशत छ । दश वर्षमा आधा घटाउन सकिने भिजन पेपरमा परिकल्पना गरिएको छ ।

महासंघले सय योजना तयार पारेको छ । यसमध्ये ४० वटा योजना दुई वर्षभित्रै कार्यान्वयनमा लान सकिने महासंघले जनाएको छ । यसका लागि सरकारसँगको सहकार्य आवश्यक रहेको गोल्छाले बताए । ‘यी कार्यान्वयन गर्न सकिने र प्रतिफल दिने योजना हुन्,’ उनले भने, ‘हाम्रो अर्थतन्त्र विस्तारका लागि तयार छ, किनभने हाम्रा आधारभूत आर्थिक परिसूचक ठीक अवस्थामा छन् ।’ 

नेपालमा पूर्वाधारमा लगानी बढाउन सक्ने प्रशस्त अवसर र स्रोतको सम्भावना रहेको भिजन पेपरले देखाएको छ । ‘कुल गार्हस्थ्य उत्पादन र ऋणको अनुपात ४० प्रतिशत हाराहारी छ । राजस्व र जिडिपी अनुपात २२ प्रतिशत छ । जबकि दक्षिण एसियाको औसत १२ प्रतिशत मात्रै छ,’ गोल्छाले भने, ‘यसका लागि पुँजीगत खर्च बढाउने उपाय खोजिएको छ र तिनको कार्यान्वयन आवश्यक छ ।’ बजेटको आकार बढाएर मात्र विकास सम्भव नहुने भन्दै अनुत्पादक खर्चमा बजेट कम गर्न, उत्पादक क्षेत्रमा बजेट बढाउन तथा राजस्वको सदुपयोग गर्न आवश्यक रहेको उनले बताए ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको