May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

झापामा जातीय दुर्व्यवहार गर्दै छिमेकीले निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु

  • 3
    Shares

काठमाडौं, जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक दलितको ज्यान गएको छ । गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीको भनाइ छ ।

घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबुलाई जातीय दुव्र्यवहार गर्दै आएको छोरी कञ्चनले बताइन् । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि बहिष्कृत थिए ।

‘सानो जातको भनेर हामीलाई सधैँ गाली गर्ने, हेप्ने गर्थे,’ उनले भनिन्, ‘हाम्रो बुबा सोमबार मातेर सुतिरहनु भएकाे थियाे । सुतिरहेको ठाउँमा आएर मोहन घिमिरे कुट्न खोजे । हामीले मिलाएर पठायौँ । पछि बुबा आफूलाई हेपेको विषयमा कुरा गर्न जानुभयो । त्यसपछि उहाँलाई कुटे । बुबाले प्रतिकार गर्न सक्नुभएन ।’

यस्तै, बलबहादुरको शव अझै परिवारले बुझेको छैन । हाल उनको शव बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा छ । घटना सार्वजनिक भएपछि प्रहरीले मोहनलाई पक्राउ गरेको छ ।

‘घटना शंकास्पद छ । झगडा हुँदा भएको कुटपिटले मृत्यु भएको हो कि के हो भन्ने छानबिन गर्दै छौँ,’ जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र के भएको हो भन्ने स्पष्ट हुन्छ ।’

शीर्ष समाचार

धेरै पढिएको