April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजिनामा माग, गठबन्धनबाट सरकार गठनको पहल

  • 2
    Shares

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र नयाँ सरकारका लागि ओलीको विकल्प दिन आफ्नै नेतृत्वमा पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ, प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउनेगरी पहल गर्ने निर्णय कांग्रेस बैठकले गरेको हो,’ कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य पौडेलले राजधानीसँग भने ।

शुक्रबार दिउसो २ बजेका लागि बोलाइएको बैठक एजेन्डामा सहमति जजुटेपछि राति ८ बजेपछि सुरु भएको थियो । बैठकको एजेन्डामा सरकारको विकल्प खोज्नेबारे विषय समावेश नभएपछि कांग्रेसभित्र विवाद देखिएको थियो ।

सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवासहितका नेता शीर्ष तहमा छलफलमा बसेका थिए ।

शीर्ष तहको छलफलबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने विषय बैठकको एजेन्डा बनाउने सहमति भएपछि कांग्रेसले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव लगेर निर्णय गरेको हो ।

यस्तै कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउने समयसमेत थप गरेको छ । नयाँ तथा पुराना क्रियाशील सदस्यको विवरण गत १० चैतसम्म केन्द्रमा बुझाउन कांग्रेसले समय तोकेको थियो । तर, शुक्रबारको बैठकले सो समय चैत महिनाभित्रलाई थप गर्ने निर्णय गरेको आजको राजधानी दैनिकमा खबर छ ।

कांग्रेस पार्टी कार्यालयका अनुसार हालसम्म ६८ जिल्लाले मात्रै कांग्रेसले तयार गरेको अनलाइन प्रविधिमा सदस्यतासम्बन्धी विवरण पठाउन सुरु गरेका छन् । अझै नौ जिल्लाले सदस्यताको विवरण नै पठाउन सुरु गरिसकेका छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको