April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

मेलम्ची खानेपानीको औपचारिक वितरण सुरु

काठमाडौं, सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दुई दशकको प्रयासपछि ल्याइएको पानी काठमाडौं उपत्यकामा औपचारिक रूपमा वितरण सुरु गरिएको छ । सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक वितरण पाइपलाइनको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौंवासीका धारासम्म पुर्‍याइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् । भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् । ‘प्रजातन्त्रको पुनस्र्थापनापश्चात् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनाबाट मेलम्ची आयोजना सुरु भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले केपी शर्मा ओली सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न हुन सकेको बताइन् ।

यसअघि गत १५ चैतबाट मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पुरानै सिस्टमबाट पानी वितरण हुँदै आएको छ । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गरिएको हो ।

राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक उद्घाटन गरेसँगै शुक्रबारबाटै लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाइएको लिमिटेडले जनाएको छ ।

लिमिटेडले शुक्रबारदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने जनाएको छ । योसँगै अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ ।

पहिलो चरणमा पुरानो महांकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो । लिमिटेडले पहिलो चरणमा दैनिक ४ करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे ८ करोड लिटर आइरहेको जनाएको छ ।

यसअघि, गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानीको परीक्षण गरिएको थियो । परीक्षणका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । उक्त पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो ।राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको