April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

द्रुतमार्ग ठेक्काको दोस्रो प्याकेज रद्द गर्न सार्वजनिक लेखाको निर्देशन

काठमाडौं, प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले काठमाडौं–तराई मधेस द्रुतमार्ग सुरुङ तथा पुल निर्माणका लागि गरिएका ठेक्कामध्ये दोस्रो प्याकेज रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले दोस्रो प्याकेजको ‘प्रि–क्वालिफिकेसन’ प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको हो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण जारी द्रुतमार्ग दोस्रो प्याकेज ठेक्कामा अनियमितता भएको गुनासोपछि समितिले छानबिन गर्दै आएको छ ।

समितिले बिहीबार द्रुतमार्गबारे उठिरहेका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनालाई छलफलका लागि बोलाएको थियो । सेनाले द्रुतमार्गमा पुल तथा सुरुङका लागि पहिलो प्याकेजमा दुई र दोस्रोमा एउटा मात्रै निर्माण कम्पनी छानेको थियो ।

समिति सचिव डा. रोजनाथ पाण्डेले ‘प्रि–क्वालिफिकेसन’बाट छनोट पहिलो प्याकेजमा दुई र दोस्रो प्याकेजमा एउटा मात्रै कम्पनी छनोट भएको अवस्थामा प्रतिस्पर्धा हुन नसक्ने स्थिति आएकाले दोस्रो प्याकेज रद्द गरेर पुनः ‘प्रि–क्वालिफिकेसन’ प्रक्रिया सुरु गर्न निर्देशन दिइएको जानकारी दिए ।

‘प्रि–क्वालिफिकेसन’बाट पहिलो प्याकेजमा दुई र दोस्रो प्याकेजमा एउटा मात्रै कम्पनी छनोट भएको अवस्थामा प्रतिस्पर्धा हुन नसक्ने स्थिति पैदा भएकाले दोस्रो प्याकेज रद्द गरेर पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्न निर्देशन दिइएको हो,’ समिति सचिव पाण्डेले भने ।

सेनाले दोस्रो प्याकेजअन्तर्गत मकवानपुरको धेद्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १।३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १।४ किलोमिटर गरी दुई सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोलीचंगा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र ‘प्रि–क्वालिफिकेसन’मा छनोट गरेको थियो ।

दोस्रो प्याकेजअन्तर्गत ठेक्का प्रक्रियामा एउटा मात्रै कम्पनी छनोट भएप्रति समितिले चासो राख्दै रक्षा मन्त्रालयसँग ठेक्का प्रक्रियासम्बन्धी आवश्यक कागजातसहितको प्रतिक्रिया मागेको थियो ।आजको राजधानी दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको