April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कोरोनाको हटस्पट बन्दै स्कुल र कलेज, एकैपटक ८–१० विद्यार्थीलाई संक्रमण

काठमाडौं, कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ ।

इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरिएको छ । यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले सम्भावित हटस्पटका रुपमा विद्यालय पनि परेको बताए । ‘भक्तपुरमा पनि एक्कासि धेरै विद्यार्थीमा संक्रमण भएको केसहरु देखिएका छन् । ८–१० जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ पौडेलले भने ।

डा. पौडेलले कोरोना संक्रमणका लागि विद्यालय जोखिम क्षेत्र रहेको उल्लेख गरे । ‘विद्यालयको होस्टलबाट पनि धेरैमा संक्रमण हुने जोखिम छ,’ उनले भने, ‘अभिभावकले संक्रमित भएको अवस्थामा बालबच्चालाई विद्यालयलाई विद्यालय पठाइदिनु भएन ।

काठमाडौँ उपत्यकासहित सहरी क्षेत्रमा देखिएका संक्रमितमा शिक्षक एवम् विद्यार्थीको संख्या उल्लेखनीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शैक्षिक संस्था कोरोना संक्रमणको हटस्पट बन्न थालेको देखिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

शीर्ष समाचार

धेरै पढिएको