April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

भागरथी हत्या प्रकरण: “हत्या नस्विकारे बुबा र भाइलाई मारिदिने धम्की दिएका थिए”

बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अभियुक्तका रूपमा सार्वजनिक गरिएका किशोर निर्दाेष रहेको उनको परिवारले दाबी गरेको छ । प्रहरीले फागुन ५ मा अभियुक्त सार्वजनिक गरेका सोही गाउँका १६ वर्षीय किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताएका हुन् । अभियुक्त किशोर अहिले डोटीको सिलगढीस्थित बाल सुधार केन्द्रमा छन् ।

बुबा र भाइलाई मार्ने धम्की आएपछि प्रहरीसमक्ष अपराध स्विकारेको बताएको दीपकराजले बताए । ‘मैले मारेको हुँ नभने तेरो बुबा र भाइलाई मारिदिन्छौं भन्ने धम्की आएको थियो,’ छोराको भनाइ उद्धृत गर्दै आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भागरथीको हत्या हुँदा मैले देखेको हुँ, एउटाले मास्क लगाएको थियो, चिन्न सकिनँ । अर्काेलाई राम्ररी चिन्छु, ती दोगडाकेदार गाउँपालिकाकै प्राविधिक कर्मचारी हुन्।’

दीपकराजका अनुसार माघ २१ गते पक्राउ परेका उनका छोरा विद्यालयबाट घर गइरहेका थिए । बाटोमा उक्त घटना देखे। घटनामा संलग्न दुईमध्ये एकले घाँटीमा चक्कु राखेर उक्त कुरा कतै नखोल्न धम्क्याएका थिए । ‘तेरो बुबा र भाइ अस्पताल गएका छन्, कतै भनिस् भने दुवैलाई मारिदिन्छौं भनेर धम्क्याएका रहेछन्,’ छोरालाई भेटेर फर्केका उनले भने, ‘त्यही भएर अपराध स्विकारेको हुँ भन्छ ।’ उनका कान्छा छोरा विनोद सुस्त मनस्थितिका छन्। घटना हुनुभन्दा केही दिनअघि उनको दायाँ हात पनि भाँचिएको थियो। त्यसकै उपचारका लागि दीपकराज नियमित रूपमा डडेलधुरा आउजाउ गरिरहन्थे। पछिल्लोपटक दीपकराज गाउँ छाडेर परिवारसहित महेन्द्रनगर बसाइ सरेका छन् । कान्तिपुरमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको