April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

सात महीनामा थपिए ५ लाख करदाता

  • 8
    Shares

काठमाडौं, चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनाको अवधिमा करीब ५ लाख करदाता थपिएका छन् । कोरोना महामारीको समयका रूपमा लिइएको यो अवधिमा पनि करदाता थपिने क्रम बढेको हो । अर्थ मन्त्रालयका अनुसार माघ मसान्तसम्ममा ४ लाख ८८ हजार करदाता थपिएका छन् ।

यो अवधिमा खासगरी व्यवसायी स्थायी लेखा नम्बर लिने नयाँ करदाताको संख्या १ लाख ५९ छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३ लाख २५ हजार छन् । २५ सयभन्दा बढीले करकट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् । त्यस्तै स्थायी लेखा नम्बर ९प्यान० लिने करदाताको कुल संख्या ३८ लाख २५ हजार ९४६ पुगेको छ । यो संख्या गत असारमा ३३ लाख ३७ हजार ४०० थियो ।

चालू आवको ७ महीना अवधिमा मूल्य अभिवृद्धि करतर्फ २२ हजार ६०० र अन्तःशुल्कतर्फ दर्ता हुनेको संख्या १३ हजार ५०० छ । यससँगै मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता २ लाख ७८ हजार ६२४ र अन्तःशुल्कमा दर्ता हुने करदाता १ लाख ७ हजार ८४५ पुगेका छन् ।

अर्थ मन्त्रालय, राजस्व महाशाखाका प्रमुख रामेश्वर दंगाल कर प्रणाली विद्युतीय माध्यममा गएकाले पनि करदाता उल्लेख्य बढेको बताउँछन् । उनका अनुसार नीतिगत सुधार नै करदाता थपिनुको मुख्य कारण हो । नयाँ करदाता थपिने क्रम बढेसँगै सरकारले राजस्व संकलनमा समेत सफलता पाउँदै गएको देखिएको छ । चालू वर्षको माघसम्म सरकारले राजस्व संकलनमा अपेक्षाकृत नै राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार यो अवधिमा लक्ष्यको ९६ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । चालू आवमा कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व उठाउने सरकारी लक्ष्य छ ।

माघसम्ममा यस्तो लक्ष्य ५ खर्ब ४९ अर्ब ५१ करोड थियो । यसमध्ये समीक्षा अवधिमा ५ खर्ब ३० अर्ब ७२ करोड संकलन भएको छ । आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको