March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हट्यो

काठमाडौं, सरकारले मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त चारओटा वस्तुमा लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा सरकारले उक्त वस्तु तोकिएको कोटामा मात्र आयात गर्न दिने निर्णण गरेको हो । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले कोटाका आधारमा उक्त चार वस्तुको आयात खुला गरिएको बताइन् ।

यससम्बन्धी आवश्यक सूचना भने आउँदो सोमबारको राजपत्रमा प्रकाशन गरिने उनले जानकारी दिइन् । सम्बद्ध वस्तु कति परिमाणमा आयात गर्न दिने भन्ने विषय केही खुलाउन नमिल्ने उनको भनाइ छ ।

‘हाललाई कोटा प्रणालीमा यी वस्तुको आयात गर्ने दिने व्यवस्था गरेका छौं । यदि भविष्यमा आयातित वस्तुले पुगेन र मागअनुसार आपूर्ति गर्न सकिएन भने पुनर्विचार हुन सक्छ,’ उनले भने ।

कोरोना महामारी नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको अवस्थामा सरकारले गत वर्षको चैतमा धेरै आयात हुने वस्तु आयातमा रोक लगाएको थियो । त्यस क्रममै मरीच, केराउ, छोकडा र सुपारी आयातमा भने पूर्ण प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला मदिरालगायत अन्य वस्तुको आयातमा पनि रोक लागेको थियो ।

कोरोना संकटमा विदेशिने मुद्रालाई बाहिर जान नदिन यस्तो निर्णय गरिएको थियो । अहिले महामारी सामान्य हुँदै गएपछि सरकारले विभिन्न वस्तु आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्दै गएको हो । सरकारले मदिरामा लगाएको प्रतिबन्ध गत असोजमै फुकुवा गरेको थियो । सरकारले आयातमा प्रतिबन्ध लगाउँदा यी वस्तुको आयात तथा व्यापार गर्दै आएका उद्योगी तथा व्यापारी प्रभावित भएका थिए । प्रतिबन्धले विशेषगरी केराउको कारोबार गर्ने उद्योग बढी प्रभावित भएका थिए ।

उद्योगीहरूले आयातित केराउबाट दाल बनाएर स्वदेशी बजारमा विक्री गर्दै आएका थिए । सरकारले आयातमा प्रतिबन्ध लगाएपछि उनीहरूको व्यापार सुक्ने अवस्थामा पुगेको थियो । त्यसमाथि नेपाली बजारमा यी वस्तुको अभाव हुँदा मूल्य बढेको थियो ।

सरकारको नयाँ निर्णयले भने दाल उद्योगहरूलाई उकास्न सहज हुने उद्योगीहरू बताउँछन् । साथै, सम्बद्ध वस्तुको आपूर्ति पनि सहज हुने उनीहरूको तर्क छ ।आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको