April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

दलको बैठकमा उपस्थित नहुने सांसदलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

  • 23
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले एमालेले संसदीय दलको बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएका छन् । नेताहरू झलनाथ खनाल–माधव नेपाल पक्षले संसदीय दलको बैठक बहिष्कार गरेको थियो । 

खनाल–नेपाल समूहले बुधबार र बिहीबार छुट्टै राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । भेलामा सहभागी भएर दलको बैठकमा अनुपस्थित सांसदलाई आत्मालोचना गर्दै पार्टी काममा सहभागी हुन बैठकले निर्देशन दिएको छ । गुटगत भेला नगर्न र पार्टीबाहेकको निर्देशन नमान्न पनि बैठकले निर्देशन दिएको एक सांसदले बताए । 

बैठकमा प्रधानमन्त्री ओलीले दलको बैठक छाडेर गुटको भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने संकेत गरेका थिए । पार्टीको महत्वपूर्ण बैठकमा नआउने सांसदलाई पार्टी विधान र कानुनबमोजिम गर्ने उनको भनाइ थियो । 

‘प्रधानमन्त्रीले ठाडो शब्दमा कारबाही गर्छु नै त भन्नुभएन, तर बैठकमा नआउनेका लागि पनि कानुनी उपाय छ भन्नुभयो,’ बैठकमा सहभागी ओली पक्षकी सांसद रेखाकुमारी झाले भनिन्, ‘एकातिर पार्टीको सांसद हुँ भन्ने अर्काेतिर अध्यक्षले बोलाउँदा पनि दलको यस्तो महत्वपूर्ण बैठकमा उपस्थित नहुने भन्दै त्यस्ता सांसदलाई कानुनबमोजिम स्पष्टीकरण सोधिने प्रधानमन्त्रीले बताउनुभयो ।’ 

अर्का एक सांसदका अनुसार नेपाल–खनाल पक्ष जुन ढंगले अघि बढ्छन् त्यहीअनुसार स्टेप चाल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘उहाँहरू (नेपाल–खनाल पक्ष) अझै कति अगाडिसम्म जानुहुन्छ क्रियाकलाप हेर्दै जाऊँ, त्यहीअनुसार स्टेप चालिन्छ भन्ने प्रधानमन्त्रीको कुरा थियो,’ ती सांसदले भने । 

गत बुधबार प्रधानमन्त्री ओलीले बालुवाटारमै गरेको चियापान समारोह पनि नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो । त्यस दिन पनि उनले पार्टी एकताविरोधी क्रियाकलापमा अब छुट नहुने बताउँदै नेपाल–खनाल समूहलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।नयाँ पत्रिकाबाट

शीर्ष समाचार

धेरै पढिएको