March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

महन्थ ठाकुर बन्लान् त प्रधानमन्त्री ?

काठमाडौं, नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।

पार्टीभित्रको विवादले अर्को रुप नलिएसम्म एमाले नेतृत्वको वर्तमान सरकारलाई टिकाइराख्न जनता समाजवादीको समर्थन भए पुग्छ । तर जनता समाजवादी पार्टीभित्रै केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा मतभेद छ ।

अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको सरकारप्रति नरम देखिए पनि उपेन्द्र यादव र बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । सत्तारुढ एमालेभित्रको माधवकुमार नेपाल, झलनाथ खनालसहितको असन्तुष्ट समूह मात्र होइन, सत्तासाझेदार माओवादी केन्द्र पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारले मुलुकको शासन सञ्चालन गर्ने नैतिक आधार गुमाएको भन्दै एक वर्षअघि नै विकल्प खोज्नुपर्ने निर्णय गरेको थियो ।

तर एमाले र माओवादी केन्द्रबीचको एकीकरणले झन्डै दुई तिहाइ बहुमत नजिक रहेका ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्ने हैसियत पनि कांग्रेसको थिएन । अहिले दुई दल विभाजनसँगै विकास भएको नयाँ घटनाक्रममा कांग्रेस फेरि एकपटक सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ । तर अहिले नयाँ सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा छ ।

आफू नेतृत्वको सरकारले निरन्तरता नपाउने अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले महन्थलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने एमाले वृत्तको विश्लेषण छ ।

जसपाकै नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको अवस्थामा पार्टीका अन्य नेतालाई कांग्रेस वा माओवादी नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्न नैतिक संकट पर्नेछ । माओवादी नेतृत्वमा अहिले नयाँ सरकार गठनको सम्भावना निकै कम छ । ओलीको विकल्पमा माओवादी केन्द्रले कांग्रेस वा जसपामध्ये कुनै एकको नेतृत्व स्वीकार गरेर अघि बढ्ने नेताहरूको बुझाइ छ ।

त्यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर मुख्य दाबेदार हुन् । पार्टीको १४औं महाधिवेशन संघारमै आइपुगेकाले देउवा मुलुकको कार्यकारी प्रमुख हुँदा त्यसको असर महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा पनि पर्ने कांग्रेस नेताहरूको बुझाइ छ । प्रधानमन्त्रीसहित पार्टी सभापतिका लागि देउवा अघि बढ्दा उनलाई रोक्न सहज नहुने संस्थापन इतर पक्षको बुझाइ छ ।

त्यस्तो अवस्थामा देउवालाई प्रधानमन्त्रीमा रोक्न मधेसबाट लामो समयदेखि राजनीति गर्दै आएका पार्टीकै पूर्वनेता ठाकुरलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न कांग्रेसलाई धेरै कठिन नहुने नेताहरूको बुझाइ छ । ‘कांग्रेसकै पहलमा मधेसी मूलको नेतालाई प्रधानमन्त्री बनाउने यो एउटा अवसर पनि हो,’ कांग्रेसका एक नेताले भने, ‘महन्थजी हाम्रो पार्टीको पुरानो नेता र असल मित्र पनि हुनुहुन्छ ।’

शुक्रबार साँझ नै सभापति देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस र जसपाका नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको नागरिक दैनिकमा उल्लेख छ ।